बारा, २९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले बाराको सिमरास्थित क्यासिनोहरूमा नेपाली नागरिकहरूलाई अवैध रूपमा प्रवेश गराइएको भन्दै संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद अन्सारीले प्रचलित कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा निषेध गरिएको भए तापनि सिमराका क्यासिनोहरूले प्रलोभन देखाएर नेपालीहरूलाई भित्र्याइरहेको बताएका छन्।
सांसद अन्सारीले क्यासिनोमा नेपाली नागरिकको प्रवेशमाथि कडा निगरानी राख्न, र यस कार्यमा संलग्न सञ्चालक, संरक्षणकर्ता तथा बिचौलियाहरूमाथि कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनले संसदमा बोल्दै भने, “पहिला निःशुल्क प्रवेश गराएर लत बसाल्ने र अन्ततः परिवार विखण्डन र ऋणको भुमरीमा पार्ने काम भइरहेको छ, यसमा सरकारले तत्काल कदम चालोस्।” साथै उनले बारा–पर्सा औद्योगिक कोरिडोर देशकै महत्त्वपूर्ण आर्थिक कोरिडोर भएको भन्दै विकासका नाममा उक्त क्षेत्रमा भइरहेको गैरन्यायोचित लाभ तत्काल रोक्नुपर्ने बताएका छन् ।
उनले भने, “विगतमा केही राजनीतिक दलको संरक्षणमा उद्योग र केही उद्योगीलाई बिघौँ सरकारी जग्गा उपलब्ध गराइएको छ । सार्वजनिक जग्गा, खोलानाला हडपेर उद्योग बनाइएका छन् । अब ती सरकारी जग्गा अनुसन्धानको दायरामा आउनुपर्छ । यो केवल कानुन प्रश्न मात्र होइन, राज्यको अधिकार र जनताको सम्पत्तिमाथिको खुला हस्तक्षेप हो ।”





