Thursday, June 4, 2026

एसईईमा भरत बाबा बोर्डिङ्ग स्कुलका ५ विद्यार्थीले ल्याए ४ जिपिए

spot_img

बारा, ३१ वैशाख । बाराको कलैया स्थित भरत बाबा सेकेन्डरी बोर्डिङ्ग स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी कुल ४० जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने ५ जनाले ४ जिपिए ल्याएर बारा जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएका छन्।

विद्यालयका प्रिन्सिपल रविन थापाले आज पत्रकार सम्मेलन आयोजना गर्दै २५ जना विद्यार्थीले ए प्लस र १५ जनाले ए ग्रेड प्राप्त गरेको जानकारी दिएका छन्। ४ जिपिए ल्याउने विद्यार्थीहरूमा आर्यन राज कर्ण, हरिशंकर प्रसाद गुप्ता, अञ्जली यादव, प्रतिभा कुमारी साह र सुश्रीका बुढाथोकी रहेका छन्।

विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासका कारण उत्कृष्ट नतिजा सम्भव भएको प्रिन्सिपल थापाले बताए। “चार जिपिए ल्याउने लक्ष्यसहित विद्यार्थीहरूले लामो समयदेखि मेहनत गरेका थिए। दैनिक करिब १८ घण्टासम्म अध्ययन गरेका कारण विद्यार्थी सफल भएका हुन्,” उनले भने।

उनका अनुसार विद्यालयले अतिरिक्त क्रियाकलापभन्दा शिक्षालाई बढी प्राथमिकता दिँदै गुणस्तरीय पढाइमा ध्यान केन्द्रित गर्दै आएको छ। “हाम्रो मुख्य उद्देश्य पढाइ र अनुशासन हो। विद्यार्थीलाई नैतिक शिक्षा र अनुशासनतर्फ अघि बढाउँदै आएका छौँ,” उनले बताए।

प्रिन्सिपल थापाले बोर्डिङ शिक्षालाई केवल व्यवसायिक नभई सेवामूलक बनाउनुपर्ने धारणा पनि व्यक्त गरे। विद्यालयले विगत केही वर्षदेखि शुल्क वृद्धि नगरेको जानकारी दिँदै उनले २०८१ सालमा रहेको शुल्क २०८२ र २०८३ मा पनि यथावत राखिएको बताए। साथै भर्ना शुल्क एकपटक मात्र लिने व्यवस्था गरिएको उनको भनाइ छ।

उनका अनुसार हाल विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयले पढाइमैत्री वातावरण सिर्जना गर्दै शिक्षाको गुणस्तर सुधारमा ध्यान दिइरहेको उनले बताए। उनले अभिभावकलाई घरमै नैतिक शिक्षा दिन आग्रह गर्दै पढाइको समयमा मोबाइल प्रयोग गर्न नदिन पनि अनुरोध गरेका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूको मेहनत र उपलब्धिको कदर गर्दै विद्यालयले उनीहरूलाई सम्मान गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर