बारा, ०१ जेठ । सर्लाहीको हरिपुर नगरपालिकामा इँटा भट्टाको पर्खाल भत्किँदा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
हरिपुर नगरपालिका–५, मजुर्वास्थित कृष्ण इँटा उद्योगमा शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा अचानक माटो र इँटाको पर्खाल खसेर उक्त दुर्घटना भएको हो।
पर्खालले पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार मृत्यु हुनेमा सर्लाहीकै गौडेता नगरपालिका–७, रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखेमपुर घर भएका ३५ वर्षीय अंगद कुमार रहेका छन्।
मृतकहरूको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। सोही घटनामा परी मलंगवा नगरपालिका–७ बस्ने ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्य नारायण महतो घाइते भएका छन्। घाइते दुवैको अवस्था हाल सामान्य रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।





