बारा, २ जेठ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले यस अवधिमा कार्यालयका लागि रु दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको भए तापनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत मात्र प्रगति हासिल भएको हो ।
मुख्यगरी पेट्रोलियम पदार्थ तथा सवारीसाधन र तिनका पार्टपुर्जाको आयातलाई राजस्वको मुख्य स्रोत मानिएको यस नाकामा चालु आवको राजस्व सङ्कलन अवस्था समग्रमा सन्तोषजनक रहेको भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिएका छन्।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा कुल रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य सुम्पिएको छ । चालु आर्थिक वर्षका दुई महिना अझै बाँकी रहेकाले थप राजस्व सङ्कलन भई वार्षिक लक्ष्यको नजिक पुगिने कार्यालयको अपेक्षा छ ।





