बारा, १० जेठ । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएको छ।
यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत अर्थात् रु एक खर्ब दुई अर्ब ४४ करोडले बढी हो। गत आर्थिक वर्षको पहिलो १० महिनामा यस नाकाबाट रु छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तुहरू भित्रिएका थिए।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षमा विशेष गरी पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुहरूको आयातमा उच्च बढोत्तरी भएकाले समग्र आयातको ग्राफ बढेको हो।
तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्रै रु एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थ नेपाल भित्रिएका छन् ।
यसैगरी, निर्माण तथा औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने रु ६९ अर्ब ४२ करोड मूल्यको फलाम तथा फलामबाट बनेका सामान र रु ५७ अर्ब ६६ करोड बराबरको मेसिनरी तथा पार्टपुर्जाहरू आयात भएका छन्।
नेपालमा भटमासको कच्चातेल (क्रुड सोयाबिन आयल) को आयात पनि उल्लेख्य रहेको देखिन्छ, जसमा समीक्षा अवधिमा रु ५५ अर्ब सात करोड बाहिरिएको भन्सार कार्यालयको विवरणले देखाउँछ। नाकाबाट आयात बढेसँगै समग्र व्यापारिक गतिविधिमा समेत सुधार संकेत देखिएको छ।





