Thursday, June 4, 2026

उद्योग मन्त्री यादवद्वारा सिमरा सेजको अतिक्रमित जग्गाको निरीक्षण

spot_img

बारा, १० जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) को स्थलगत निरीक्षण गरेकी छन्।

सरकारले सेज क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने तयारी गरिरहेका बेला उनले मन्त्रालयका सचिव कृष्णबहादुर राउत र विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक मेघराज शङ्करसहितको टोलीसँगै त्यहाँको वस्तुस्थिति, निर्माण गरिएका संरचना तथा स्थानीयको अवस्थाबारे जानकारी लिएकी हुन।

कुल ८३३ बिघामध्ये ४९० बिघा जग्गा अतिक्रमणमा परेको र हाल ३४३ बिघा मात्रै सेजले उपयोग गरिरहेको अवस्थामा प्राधिकरणले वैशाख ९ गते जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्राचार गर्दै जग्गा खाली गराउन सहयोग मागेको थियो।

सोही क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले अतिक्रमित जग्गा खाली गराउने कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

निरीक्षणका क्रममा मन्त्री यादवले त्यहाँ बसोबास गर्दै आएका स्थानीयवासीसँग पनि छलफल गरिन। सो अवसरमा लामो समयदेखि बसोबास गर्दै आएका ९३ घरपरिवारले उचित व्यवस्थापनको मागसहित मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन्। स्थानीयका अनुसार उनीहरू २०५९ सालमा वीरगन्ज चिनी कारखाना बन्द हुनुअघिदेखि नै कारखानाकै व्यवस्थापनमा र २०५० सालको बाढीबाट विस्थापित भएकाहरू तत्कालीन प्रशासनको समन्वयमा त्यहाँ बस्दै आएका हुन्।

चिनी कारखाना बन्द भएपछि २०६२ सालमा उक्त जग्गाको स्वामित्व उद्योग मन्त्रालयको नाममा आए पनि ती परिवारहरू अझै त्यहीँ छन्। सेजको २०७७/७८ को तथ्याङ्कअनुसार हाल त्यहाँ ६०० भन्दा बढी (६०६) घरपरिवार बसोबास गरिरहेका छन् जसलाई प्राधिकरणले अतिक्रमणको रूपमा उल्लेख गर्दै आएको छ।

मन्त्री यादवले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहित स्थानीय सरकार, प्रशासन र सरोकारवाला निकायहरूसँग आन्तरिक छलफल गरी आवश्यक जानकारी लिएर फर्किएकी हुन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर