बारा, १२ जेठ । मधेस प्रदेश सरकारका नवनियुक्त मन्त्री माननीय महमद समीरले भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यभार औपचारिक रूपमा सम्हालेका छन्।
पदभार ग्रहण लगतै मन्त्री समीरलाई मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचारी तथा शुभचिन्तकहरूले सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यभार सम्हालेकै दिन मन्त्री समीरले प्रदेशको यातायात पूर्वाधारलाई लक्षित गर्दै दुईवटा निर्णयहरू गरेका छन्। उनको पहिलो निर्णय अनुसार प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा “एक निर्वाचन क्षेत्र, एक पक्की पुल” निर्माण कार्यलाई अभिलम्ब अघि बढाइने भएको छ।
यसैगरी मन्त्री समीरले पूर्वाधार विकासलाई थप गति दिन “एक निर्वाचन क्षेत्र, एक सडक” अभियानअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने निर्णय गरेका छन्।
उक्त कालोपत्रे सडक निर्माण कार्यलाई निर्धारित समयभित्रै गुणस्तरीय रूपमा सम्पन्न गर्न मन्त्री समीरले मातहतका निकाय र कर्मचारीहरूलाई निर्देशन दिेएका छन्।
वैशाख २३ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि सत्ता समीकरण फेरिएको हो । हाल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच समीकरण भएर सरकार बनेको हो ।




