बारा, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विद्यमान सरकारी फाइल प्रक्रिया र स्वीकृतिको चक्रले गर्दा विपद् व्यवस्थापन पीडितहरूले समयमै सहायता पाउन नसकेको बताएका छन्।
शनिबार बारा जिल्लाको अमलेखगन्ज र चकरीमा आएको आँधीबेहरीले पुर्याएको क्षतिबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै सांसद अन्सारीले भने, “गएको शनिबार बारामा आएको आँधीबेहरीले करिब ५० वटा घर ध्वस्त बनायो। धेरै परिवारले एकै रातमा आफ्नो छानो, खाद्यान्न, लत्ताकपडा र सुरक्षित आश्रय गुमाए। यो केवल बाराको मात्र कथा होइन, नेपालका विभिन्न भागमा यस्ता विपद् बारम्बार दोहोरिन्छन्। तर हाम्रो राहत प्रणाली अझै पनि फाइल प्रक्रिया र स्वीकृतिको चक्रमा अल्झिएको छ।”
विपद् जस्तै स्वास्थ्य क्षेत्रमा पनि उस्तै विडम्बना रहेको उल्लेख गर्दै उनले मिर्गौला र क्यान्सरका बिरामीलाई आर्थिक सहायता दिने नीति भए पनि झन्झटिलो प्रक्रियाका कारण कतिपय बिरामीको मृत्यु भइसक्दा समेत सहायता फाइल कार्यालयमै घुमिरहने गरेको बताए। उनले थप भने, “सहायता ढिलो पुग्नु भनेको सहायता नपुग्नु सरह हो।”
विद्यमान ढिलासुस्तीलाई चिर्न र प्रभावकारी रूपमा काम गर्न सांसद अन्सारीले सरकारसमक्ष निम्न ५ बुँदे सुझाव तथा मागहरू प्रस्तुत गरेका छन् । उनले संघीय स्तरमा तत्काल एक नेशनल डिजास्टर रेस्पोन्स फोर्सको गठन गर्न माग गरेका छन्।
साथै उनले वडा स्तरमै राहत सामग्री, आपत्कालीन आश्रय किट र खाद्यान्नहरूको पूर्व भण्डारण स्थापना गर्न, विपद् प्रभावित परिवारहरूलाई २४ घण्टाभित्र प्रत्यक्ष नगद सहायता उपलब्ध गराउने व्यवस्था गर्न, तीनै तहका सरकार, सुरक्षा बल, रेडक्रस र स्वयंसेवकहरूबीच बलियो समन्वयका लागि एकद्वार प्रणाली स्थापना गर्न र राहत र सहायता वितरण प्रक्रियालाई प्रविधिमैत्री र स्वचालित बनाउन माग गरेका छन् ।



