बारा, २१ जेठ । मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।
स्वास्थ्य निर्देशनालयले प्रदेशका १३३ स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानका क्रममा २ लाख ८३ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा ठूलो सङ्ख्यामा कुपोषणको समस्या फेला परेको हो। परीक्षण गरिएका कुल बालबालिकामध्ये १५.७६ प्रतिशत अर्थात् ४४ हजार ६ सय ५४ जनामा कुपोषण र शीघ्र कुपोषणको गम्भीर लक्षण देखिएको छ।
विस्तृत तथ्याङ्क हेर्दा करिब ३५ हजार ८ सय ८३ जना कुपोषित र ८ हजार ७ सय ७१ जना अति शीघ्र कुपोषित पाइएका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डलाई आधार मान्ने हो भने मधेश प्रदेशका बालबालिकामा देखिएको यो स्वास्थ्य अवस्था निकै चुनौतीपूर्ण विषय हो।
गरिबी, अशिक्षा, पोषणसम्बन्धी चेतनाको कमी, सरसफाइको अभाव तथा असन्तुलित खानपान जस्ता कारणले मधेसमा कुपोषणका समस्या जटिल बन्दै गएको छ । कूल परीक्षण गरिएकामध्ये २ लाख ३३ हजारभन्दा बढी बालबालिका सामान्य अवस्थामा रहे पनि आगामी दिनमा कुपोषणको न्यूनीकरण गर्न सरकारी तथा सामाजिक स्तरबाट ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
नेपालको कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हिस्सा ओगटेको र देशैभर जन्मिने बालबालिकामध्ये करिब २९ प्रतिशतको जन्मथलो मधेश प्रदेश रहेको छ ।





