बारा, २१ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित दुधौरा खोला नजिकै एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । अमलेखगंज बस्ने ८२ वर्षीय कृष्ण बल दुधौरा खोलाको झोलुङ्गे पुल नजिकैको काँसघारीमा मृत फेला परेका हुन् ।
बिहिबार बिहान स्थानीय बासिन्दाले काँसघारीमा बेवारिसे शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय अमलेखगंजमा खबर गरेका थिए । जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी अधिकृतको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान तथा कानुनी मुचुल्का उठाएको थियो ।
प्रहरीले घटनास्थलको प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो । अस्पतालमा पोस्टमार्टम सकिएपछि मृतकका छोरा सूर्य लामाले शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार मृतक बल विगत दुई दिनदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनी पहिलेदेखि नै उच्च रक्तचापको बिरामी रहेको बारा प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





