बारा, २४ जेठ । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भनी सञ्चारमाध्यममा आएका समाचारहरू सत्य नभएको स्पष्ट पारेको छ।
केही सञ्चारमाध्यममा सरकारले आइतबारको बिदा हटाउने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि सरकारले त्यसको औपचारिक खण्डन गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यस विषयमा सरकारले कुनै पनि निर्णय नगरेको र हालका लागि त्यस्तो कुनै तयारी वा योजनासमेत नरहेको जानकारी दिइन।
यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धिका बेला जनजीवन र व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९:०० देखि अपराह्न ५:०० बजेसम्म कायम गर्ने निर्णय गरेको थियो जुन व्यवस्था हाल पनि यथावत् रहेको सरकारले प्रस्ट पारेको छ।





