बारा, जेठ २५। विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै फरार प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरिएको जनाएको हो।
प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका–५ निवासी ४७ वर्षीय छोटेलाल प्रसाद गुप्तालाई बैंकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। उनी फरार रहेकामा पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
यस्तै, महागढीमाई नगरपालिका–१ निवासी ५५ वर्षीय पुष्कर कुमार चौधरीलाई चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना, सोही ठाउँका ३१ वर्षीय भुलेन्द्र प्रसाद यादवलाई चेक अनादर मुद्दामा १ हजार ५ सय रुपैयाँ जरिवाना तथा ३५ वर्षीय विजय कुमार ठाकुरलाई चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यसैगरी, कलैया उपमहानगरपालिका–४ निवासी ३५ वर्षीय गणेश कुमार मिस्तारलाई चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना तथा कलैया उपमहानगरपालिका–८ निवासी ४२ वर्षीय राजेश कुमार यादवलाई विदेशी विनिमय अपचलन मुद्दामा ३ लाख रुपैयाँ जरिवाना सजाय रहेको प्रहरीले जनाएको छ।
प्रहरीले विश्रामपुर गाउँपालिका–५ निवासी ५० वर्षीय अरविन्द कुमारलाई लेनदेन बिगोसम्बन्धी मुद्दा तथा कोल्हबी नगरपालिका–१ निवासी ३२ वर्षीय पप्पु जयसवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका सबैलाई बारा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीविरुद्ध खोजी अभियानलाई निरन्तरता दिइने जनाएको छ।




