बारा, ३१ जेठ। युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम (रेड बुक) मा बारा जिल्लाको कलैयामा क्रिकेट मैदान पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
रेड बुकमा समावेश भएको विवरण अनुसार क्रम संख्या १७९ मा “कलैया क्रिकेट मैदान पूर्वाधार निर्माण, कलैया, बारा शीर्षक अन्तर्गत ३० हजार (रु हजारमा)अर्थात् ३ करोड रुपैयाँ बजेट छुट्याइएको उल्लेख छ।
क्रिकेट पूर्वाधार विकासका लागि बजेट विनियोजन भएपछि बाराका खेलप्रेमी तथा क्रिकेट खेलाडीहरू उत्साहित भएका छन्। लामो समयदेखि व्यवस्थित क्रिकेट मैदानको माग हुँदै आएको अवस्थामा सरकारले बजेट सुनिश्चित गरेसँगै निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ।
स्थानीय खेलकुदकर्मीहरूका अनुसार क्रिकेट मैदान निर्माण सम्पन्न भएपछि बारामा जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज हुने, युवा खेलाडीलाई प्रशिक्षण तथा अभ्यासका लागि उपयुक्त वातावरण उपलब्ध हुने र क्रिकेट खेलको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयले देशका विभिन्न जिल्लामा रंगशाला, खेलमैदान तथा खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ। सोही कार्यक्रम अन्तर्गत कलैयाको क्रिकेट मैदान पनि प्राथमिकतामा परेको हो।
अब सम्बन्धित निकायले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), ठेक्का प्रक्रिया तथा निर्माण कार्य अघि बढाएपछि बजेट कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ।
यस्तै बारा जिल्ला क्रिकेट संघले परितोष यादवको विशेष पहल तथा विनोद दासकाे अथक मेहनतले गर्दा नेपाल सरकार द्वारा सिद्धेश्वर क्रिकेट ग्राउण्डकाे स्तरोन्नति, भौतिक निर्माण तथा संरक्षणकाे लागि नेपाल सरकारद्वारा रु ३ करोड बजेट विनियोजन भएको भन्दै आभार व्यक्त गरेको छ।


