बारा, ०५ असार। नेपाली घरेलु क्रिकेटलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने उद्देश्यसहित पीएल सिंह मेमोरियल टी–२० कप आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने भएको छ।
प्रतियोगितामा स्थापित राष्ट्रिय खेलाडी र उदाउँदा घरेलु प्रतिभाहरूको आकर्षक मिश्रण देख्न पाइने अपेक्षा गरिएको छ। लिगमा अनिल साह, अर्जुन कुमाल, इशान पाण्डेलगायत चर्चित खेलाडीहरू सहभागि हुनेछन्।
प्रतियोगितामा देशका छ महानगरीय शहरहरूको प्रतिनिधित्व गर्ने गरी वीरगन्ज, काठमाडौँ, भरतपुर, ललितपुर, पोखरा र विराटनगरका टोलीहरू प्रतिस्पर्धामा उत्रिनेछन्।
वीरगन्ज महानगरपालिका टोलीको नेतृत्व (कप्तानी) अनिल साहले गर्नेछन्। टोलीमा पवन सर्राफ, एमडी समीर, अर्निको यादव, सन्तोष कार्की, आशिक बैठक, रञ्जित कुमार, विशाल पटेल, सफवान अली, रुपेश सिंह, नितेश पटेल, अनुज चौहान, मयन यादव, वासिम अली मन्सुरी र अभिषेक कार्की समावेश छन्।
उद्घाटन खेलमा आज दिउँसो १ बजे काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका भिड्ने भएका छन्। यस्तै वीरगन्ज महानगरपालिकाले आफ्नो पहिलो खेल भोलि शनिबार भरतपुर महानगरपालिका विरुद्ध खेल्ने छ। त्यस्तै वीरगन्ज महानगरले आईतबार काठमाडौं महानगर, मंगलबार बिराटनगर महानगर, बुधबार ललितपुर महानगर र शुक्रबारको दिन पोखरा महानगर विरुद्ध खेल्ने छ।
प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र राष्ट्रिय टोलीका लागि सम्भावित खेलाडी तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। क्रिकेटप्रेमीहरूका लागि यो प्रतियोगिता उच्चस्तरीय प्रतिस्पर्धा र मनोरञ्जनको अवसर बन्ने आयोजकको विश्वास छ।



