बारा, ०५ असार । पर्साको वीरगञ्ज महानगरपालिका-४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई बालकलाई प्रहरीले डेढ घण्टाभित्रै नियन्त्रणमा लिएको छ।
आज दिउँसो डाका तथा चोरी मुद्दामा उक्त बाल सुधार गृहमा रहँदै आएका सर्लाही मलंगवा नगरपालिका-३ का १० वर्षीय नौसाद साह र ११ वर्षीय नजिर साह फरार भएका थिए। उनीहरू सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाई भाग्न सफल भएका हुन्।
वशिर साहका छोरा नौसाद र सहिद साहका छोरा नजिर फरार भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष टोली परिचालन गरिएको थियो।
तीव्र रूपमा खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आजै दिउँसो नेपाल-भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकैबाट दुवै बालकलाई नियन्त्रणमा लिन सफल भएको हो।
फरार भएको छोटो समयमै फेला परेका उनीहरूलाई अहिले पुनः नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



