बारा, ११ असार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाली उपभोक्ताले महँगो दरमै इन्धन किन्नुपर्ने अवस्था रहेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले नेपाल सरकार र नेपाल आयल निगमको सुशासन, व्यवस्थापकीय क्षमता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु प्रति ब्यारेल $११७.६३ बाट घटेर $६९.२१ मा आइपुग्दा करिब ३० प्रतिशतले गिरावट आइसकेको तथ्याङ्क प्रस्तुत गरेका छन्।
“यति ठूलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद् छ,” पौडेलले भने, “अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र?”
मूल्य किन घटेन भन्ने जनगुनासो आउँदा आयल निगमले ‘हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन’ भनी पन्छिने गरेको भन्दै उनले आक्रोश व्यक्त गरे।
कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर पर्नु स्वाभाविक भए पनि कच्चा तेलमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा घटाउने उनको दाबी छ।
लामो समय बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचना लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउनुले निगमभित्रको कमजोरी छताछुल्ल पारेको पौडेलले उल्लेख गरे। उनले भने,”यसले नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको छ।”
आयल निगमले १५/१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरेर भाउ बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्नेमा त्यसो नभएको उनको आरोप छ। मूल्य बढ्ने बेलामा तुरुन्तै लागू हुने तर घट्ने बेलामा लागू नहुने दोहोरो चरित्र देखिएको उनले बताए।
“घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा चाहिँ राहत नपाउने?” भन्दै महामन्त्री पौडेलले सरकार र निगमलाई तत्काल उपभोक्ता हित अनुकूल मूल्य समायोजन गर्न आग्रह गरेका छन्।



