बारा, ११ असार। बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. १ चिउटाहामा विषालु सर्पको टोकाइबाट एक किशोर गम्भीर बिरामी भएका छन्।
स्थानीय भैरो यादवका १५ वर्षीय छोरा मनोज यादवलाई हिजो राति करिब १० बजे आफ्नै घरको दराज खोल्ने क्रममा दराजभित्र लुकेको विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पदंशपछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगन्जमा भर्ना गरिएको छ।
अस्पताल स्रोतका अनुसार मनोजको अवस्था चिन्ताजनक रहेको छ र हाल उपचार जारी छ। उनका आफन्तसमेत उपचार प्रक्रियामा संलग्न रहेका छन्।
घटनाबारे आज बिहान साढे १२ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी नायब निरीक्षक अजय बहादुर क्षेत्रीको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ।



