बारा, १२ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले फरक-फरक स्थान र समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-१ घर भई हाल बुढानिलकण्ठ बस्ने २३ वर्षीय सन्देश चौधरी, नवलपरासी पश्चिम देवचुली-५ का ५३ वर्षीय भगवत प्रसाद थारू, चितवन भरतपुर-४ घर भई हाल ललितपुर बस्ने ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं-२९ बस्ने ३७ वर्षीय विकास दाहाल रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूले वैदेशिक रोजगारीका नाममा पीडितहरूबाट ठुलो रकम असुल गरी सम्पर्कविहीन भएको उजुरी परेको थियो। प्रहरीका अनुसार सन्देश चौधरीले मकाउ पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ, भगवत प्रसाद थारूले पोल्याण्ड पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँ, सरस्वती बारघरेले क्यानडा पठाइदिन्छु भन्दै १६ लाख रुपैयाँ र विकास दाहालले क्यानडाकै प्रलोभनमा ३ लाख ९२ हजार रुपैयाँ ठगी गरेका थिए।
पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले सन्देश र भगवतलाई बुधबार क्रमशः काठमाडौं-३ र ४ बाट तथा सरस्वती र विकासलाई बिहीबार क्रमशः ललितपुर-२६ र काठमाडौं-६ बाट पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



