Monday, June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

बारा, १५ असार । मनसुनी वायु सक्रिय भएसँगै आगामी असार १६ र १७ गते देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोलि र पर्सी मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका कतिपय स्थानमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्नेछ। केही एक-दुई स्थानमा भने अत्यधिक भारी वर्षाको समेत जोखिम रहेकाले आम नागरिकलाई आवश्यक पूर्वतयारी र उच्च सतर्कता अपनाउन प्राधिकरणले विशेष आह्वान गरेको छ।

पहाडी भेगमा पहिरो र तराई तथा सहरी क्षेत्रमा डुबानको खतरा बढेकाले नदी र खहरे खोला किनारका बस्तीहरूलाई विशेष सजग रहन भनिएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आकस्मिक बाढी आउन सक्ने जोखिमयुक्त बाटो भएर यात्रा गर्नेहरूले यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले डुबान क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार तुरुन्तै सुरक्षित र अग्लो स्थानमा सर्न आग्रह गरेको छ। साथै, तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई जुनसुकै बेला आइपर्न सक्ने विपद्को सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

मनसुनका कारण अवरुद्ध हुन सक्ने राजमार्ग र प्रमुख सडकहरू तत्काल खुलाउनका लागि डोजर, एक्साभेटर र लोडर जस्ता उपकरणहरू तयारी अवस्थामा राख्न गृहकार्य भइरहेको छ। विपद् व्यवस्थापनमा संलग्न साझेदार संस्थाहरूलाई पनि जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वयमा रहन भनिएको छ।

नागरिकको सहजताका लागि प्राधिकरणले जल तथा मौसम सम्बन्धी जानकारी लिन ११५५, विपद् सम्बन्धी आपतकालीन सहयोगका लागि ११४९, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा तत्काल सम्पर्क गर्न अनुरोध गर्दै यी हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सुरक्षित राख्न आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर