बारा, ११ असोज । गएराति महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले १२ घण्टापछि छाडेर परिवारको जिम्मा लगाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उमेश कार्कीका अनुसार राणालाई उनका छोराको जिम्मा लगाइएको हो। प्रहरीले सुरक्षा खतरा बढेकाले उनलाई सुरक्षा प्रदान गर्न प्रहरी कार्यालय ल्याउनुपरेको दाबी गरेको छ भने अब उप्रान्त घरमै आवश्यक सुरक्षा उपलब्ध गराइने जानकारी दिएको छ।
कुनै औपचारिक अभियोग वा पक्राउ पुर्जीविना नै मध्यराति राणालाई नियन्त्रणमा लिइएपछि सरकार र प्रहरीको कदममाथि चौतर्फी प्रश्न चिह्न खडा भएको छ। बिना उजुरी मध्यराति निवासबाटै नियन्त्रणमा लिनुको वास्तविक कारणबारे प्रहरीले स्पष्ट खुलाउन सकेको छैन।
यसैबीच, राणाको अवस्था बुझ्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरीको अवरोधका कारण भेटघाट नगरी फर्कन बाध्य भएको छ।
आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा गएको टोलीलाई करिब एक घण्टा प्रहरी कार्यालयको गेटमा रोकिएको थियो। आयोगको टोली भित्र पस्न नपाई फर्किएलगत्तै प्रहरीले राणालाई उनका परिवारको जिम्मा लगाएर निवास पठाएको हो।






