बारा, ०९ असोज । रौतहटको मौलापुर नगरपालिका-४ स्थित लालबकैया पुलबाट शुक्रबार दिउँसो एक युवक खोलामा हामफालेर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बाराको सिम्रौनगढ नगरपालिका-११ कटहरिया निवासी २७ वर्षीय सचिन्द्र यादव रहेका छन्।
उपचारका लागि आफ्ना दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा पछाडि बसेर रौतहटतर्फ जाँदै गर्दा सचिन्द्रले अचानक गुडिरहेको मोटरसाइकलबाट ओर्लिएर पुलबाट खोलामा फाल हानेका थिए।
हामफालेलगत्तै खोलामा डुबेर बेपत्ता भएका उनको स्थिति अझै अज्ञात रहेको छ। घटना लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले तीव्र रूपमा खोजी कार्य अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार इलाका प्रहरी कार्यालय मौलापुर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प देवाही गोनाहीका सुरक्षाकर्मीको टोली परिचालन गरी खोलामा बेपत्ता सचिन्द्रको खोजी भइरहेको छ।






