बारा, ८ असोज । नेपाल राष्ट्र बैंकले रुपैयाँ १ हजार दरको नयाँ बैंकनोट (सिरिज २०२५) आजदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकारमा रंग परिवर्तन गरी बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ्गमा तयार गरिएको नयाँ नोट प्रचलनमा ल्याइएको हो।
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अंकको पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘M’ र दुवैतर्फ तेर्सा रेखासमेत राखिएको छ।
नोटमा सुरक्षणका लागि विभिन्न विशेषता थपिएका छन्। अण्डाकार आकृतिभित्रको भगवतीको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था गरिएको छ। त्यस्तै, ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागोमा ‘NRB’ र ‘1000’ अंक राखिएको छ, जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो भागमा ‘वि.सं. २०८२’ लेखिएको छ।
नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारमा रहेका देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। चित्रको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ।
पछाडिको भागमा सात प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन्। त्यस्तै, ‘RUPEES ONE THOUSAND’ लेखिनुका साथै हनुमानढोकास्थित ल्होंचोकमा रहेको ऐतिहासिक थाम (Pillar) को आकृति समावेश गरिएको छ। नोटको तल्लो भागमा ‘2025 A.D.’ सिरिज नम्बर उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको रुपैयाँ १ हजार दरको सिरिज २०१९ को नोटमध्ये सङ्केत नं. ६८ ०००००१ देखि ९१ ४४०००० सम्म मात्र प्रचलनमा ल्याइएको थियो। त्यसपछि नयाँ सिरिज २०२५ को नोट सङ्केत नं. ९२ ०००००१ बाट सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ।






