बारा, ०७ असोज । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले उत्तर अन्डमान सागरमा बनेको न्यून चापीय क्षेत्र थप शक्तिशाली भई उत्तर-पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाएको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, भू-क्षय, डुबान, राजमार्ग तथा हवाई यातायात अवरोध र मानवीय क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले ९ बुँदे पूर्वसतर्कता सम्बन्धी निर्देशन जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचना अनुसार उक्त अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा महिला, वृद्ध, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई सुरक्षित स्थानमा राख्न भनिएको छ।
साथै ट्रेकिङमा नजान, रातिको समयमा यात्रा नगर्न, र जिल्लास्थित अस्पताल तथा एम्बुलेन्स सेवाहरूलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
विपदको समयमा आपतकालीन सहयोग र जानकारीका लागि वर्षा र बाढीसम्बन्धी सूचना लिन ११५५, जिल्ला विपद् व्यवस्थापन समितिको हटलाइन १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै स्थानीय तहका विपद् फोकलपर्सन, स्थानीय विपद् व्यवस्थापन समिति र स्वयंसेवकहरूलाई २४ सै घण्टा अलर्ट भई तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ।






