बारा, ११ असोज । बाराको पचरौता नगरपालिकामा मोटर जडान गरिएको धाराबाट पानी खाने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार पचरौता नगरपालिका-८ बाझोपटी स्थित साथी दुर्गा प्रसाद यादवको घरमा गएका महागढीमाई नगरपालिका-८ बेतौना बस्ने हकबुला देवनका २५ वर्षीय छोरा राजु देवन करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घाइते लगत्तै दुर्गा प्रसादका भाइ बालेश्वर यादवले उनलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। तर, अस्पतालका चिकित्सकले इसीजि परीक्षण गरी उनलाई मृत घोषणा गरेका हुन्। प्रहरी टोली खटिएर घटनास्थल मुचुल्कासहित थप अनुसन्धान अघि बढाएको छ।
मृतकको शव प्रादेशिक अस्पताल कलैयाको शवगृहमा राखिएकोमा असोज ११ गते दिउँसो बजे पोष्टमार्टमपश्चात निजका दाजु इजहारुल देवानले शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।






