Wednesday, November 4, 2026

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत बारामा ८७० प्रहरी परिचालन हुने

Advertisement
Advertisement

बारा, २१ असोज । चाडपर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले ३३ दिने विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । प्रदेशका आठवटै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाउने तयारीअनुसार बारामा मात्रै ८७० जना प्रहरी परिचालन गरिने भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म प्रदेशभर विशेष सुरक्षा योजना लागू हुनेछ । सो अवधिमा विभिन्न सुरक्षा ड्युटीअन्तर्गत ७ हजार २२९ प्रहरी परिचालन गरिनेछ ।

प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी धनुषामा १ हजार ५९९ प्रहरी परिचालन गरिनेछ भने बारामा ८७०, रौतहटमा ८६३, सप्तरीमा ८५७, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६१ र सिराहामा ६५१ प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी ढकालले जानकारी दिए ।

बारामा सुरक्षा व्यवस्था कडा बनाइने

चाडपर्वका बेला हुने भीडभाड, यात्रुको चाप, बजार क्षेत्रमा हुने गतिविधि तथा सम्भावित चोरी–डकैती र आपराधिक घटनालाई ध्यानमा राख्दै बारामा ठूलो संख्यामा प्रहरी परिचालन गर्न लागिएको हो । विशेषगरी राजमार्ग, बजार क्षेत्र, सीमा नाका, धार्मिक तथा पर्यटकीय स्थल र बढी भीडभाड हुने स्थानमा प्रहरीको उपस्थिति बढाइनेछ ।

प्रदेश प्रहरीका अनुसार चाडपर्व सुरक्षा व्यवस्थापनका लागि प्रदेशभर १ हजार १२४ ड्युटीअन्तर्गत ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन् ।

सुरक्षा योजनाअन्तर्गत १४ जिल्ला रिजर्भ, ९२ क्विक रेस्पोन्स टिम (क्युआरटी), १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन गरिनेछ ।

त्यस्तै, शंकास्पद स्थानमा निगरानी तथा सुरक्षा कायम गर्न ३३९ पिकेट, राजमार्गमा यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि २९ स्कर्टिङ ड्युटी र यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउन ६४ यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।

सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणका लागि ७३ ड्युटी, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ तथा कर्डन एन्ड सर्चका लागि १८ ड्युटी परिचालन गरिने प्रहरीको योजना छ ।

यसैगरी सभा, जुलुस तथा धर्नाका क्रममा आवश्यक परे तत्काल परिचालन गर्न १६ आकस्मिक सुरक्षा टोली र विपद् प्रतिकार्यका लागि २२ टोली तयारी अवस्थामा राखिनेछ । सीमा क्षेत्रमा यात्रु तथा सर्वसाधारणलाई सहयोग गर्न २८ वटा हेल्प डेस्क समेत सञ्चालन गरिने एसएसपी ढकालले बताए ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रणसँगै सर्वसाधारणलाई सुरक्षित वातावरणमा आवतजावत तथा पर्व मनाउने वातावरण बनाउन विशेष सुरक्षा योजना लागू गर्न लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर