बारा, २६ कात्तिक । सप्तरी र सिरहाको सिमानामा पर्ने बलान खोलाको बगरमा खाल्डो खनेर लुकाई राखिएको अवस्थामा प्रहरीले भारी परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
प्रहरीका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाको बीच भागमा खाल्डो खनेर गाँजा लुकाइएको भन्ने विशेष सूचना प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा आज राति करिब १ बजे खटिएको प्रहरी टोलीले उक्त क्षेत्रमा खानतलासी गर्दा २३१ किलो ८०० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो।
खानतलासीका क्रममा घटनास्थलमा संलग्न कोही पनि व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त गाँजा कसले र कहाँ लैजाने उद्देश्यले लुकाएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।




