बारा,२६ कात्तिक । सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत वडा नं. ६ र वडा नं. २७ बीच भएको खेलमा वडा नं. ६ विजयी भएको छ। डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा वडा नं. ६ लाई विजेता घोषित गरिएको हो।
पहिले ब्याटिङ गरेको वडा नं. ६ ले १७.३ ओभरमा १० विकेट गुमाउँदै १४३ रन बनाएको थियो। उसका लागि निकेश कलवारले २० बलमा ४७ रनको उत्कृष्ट पारी खेले। त्यस्तै, किशन गुप्ताले २६ र सुरज प्रजापतिले २० रनको योगदान दिए।
१४४ रनको लक्ष्य पछ्याएको वडा नं. २७ ले ९.५ ओभरमा ३ विकेट गुमाउँदै ५४ रन बनाएको थियो। खेलका क्रममा अम्पायरको निर्देशन पालना नभएको भन्दै डीएलएस पद्धतिअनुसार वडा नं. ६ लाई विजेता घोषित गरिएको आयोजकले जनाएको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ६ का निकेश कलवार म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई कलैया उपमहानगरपालिका–१४ का वडा सदस्य प्रयाग ठाकुरले पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिए।
प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
अध्यक्ष ठाकुरका अनुसार आज दिउँसो १ बजेदेखि वडा नं. ७ र वडा नं. ११ बीच प्रतिस्पर्धा हुनेछ।उनका अनुसार यस जितसँगै वडा नं. ६ समूह ‘ख’बाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।




