कलैया, ०९ वैशाख। बाराको अमलेखगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमोबाट प्रहरीले लागूऔषध बरामद गरेको छ। अमलेखगन्जबाट काठमाडौंतर्फ जादै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सुमोलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषध सहित पर्साको बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले सुमोलाई चेकजाँच गर्ने क्रममा सुमोको हुडको भागमा स्पेर टायर राखी सो टायर माथी र टायर भित्र प्वाल पारी लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी सुमो चालक मुमताजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला अदालत मकवानपुरले मुम्ताजलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।