Monday, August 10, 2026

गलैंचा कारखानाबाट उठाएर एक महिलालाई भारत लगेर ८० हजारमा बिक्री,३० वर्षपछि पक्राउ परे आरोपी

काठमाडौं, १२ बैशाख । मुम्बईको कोठीमा महिला बेचबिखन गरेको आरोप लागेर ३० वर्षदेखि फरार व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साबिक भोटेनाम्लाङ गाविस-४ हाल पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ५७ वर्षीय चमारे भनिने चमार तामाङ रहेका छन्।

मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। उनले २०४४ साल पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बई पुर्‍याएर एक महिलालाई बिक्री गरेको उजुरी प्रहरीमा थियो। मुम्बईमा रिता तामाङ गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठी नम्बर ७ मा पुर्‍याएर तामाङले ८० हजार रुपैयाँमा महिलालाई बिक्री गरेको प्रवक्ता कुँवरले बताए।

कुँवरका अनुसार ती महिला चाबहिलस्थित गलैंचा बुन्ने कारखानामा काम गरिरहेकी थिइन्। तामाङले ‘त्यस्तो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौं, तिमीजस्तो केटीले बढी सुन ल्याउन सक्छौ’ भन्दै विश्वासमा पारेर मुम्बई पुर्‍याएका थिए।

उक्त कोठीमा सात वर्षसम्म महिलालाई वेश्यावृत्तिमा लगाइएको थियो। त्यही क्रममा टिबी रोग लागेपछि उनलाई साहुनीले २०५१ माघमा नेपाल फिर्ता पठाइन्।  नेपाल आएपछि उनले २०५२ साल फागुन १ गते सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिइन्। सिन्धुपाल्चोक प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। परिसरले मुद्दा दर्तापछि २०७७ साल असोज ६ गते ब्युरोमा मिसिल पठाएको थियो। फरार प्रतिवादी खोजी सिलसिलामा तामाङलाई लामो समयपछि पक्राउ गर्न सफल भएको ब्युरो प्रवक्ता कुँवरले बताए।

तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ । न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर