32.8 C
Kalaiya

Thursday, May 29, 2025
32.8 C
Kalaiya
Thursday, May 29, 2025

spot_img

दीपक, सचिन र अर्जन साहको बेरोजगार हुनुदेखी रोजगार दिनुसम्मको सफलताको कथा

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २३ बैशाख। मधेश प्रदेशको मुटु वीरगन्ज । अनि त्यहाँका तीन युवाले देखेको एउटा सपना । सपना थियो- प्रविधिको माध्यमबाट नेपाललाई नयाँ उचाइमा पुर्‍याउने । यही सपना साकार पार्न बाराको फेटा गाउँपालिका वडा नं ७ का दीपक साह सहित, सचिन साह र अर्जन साहले १५ वर्षअघि एउटा सानो कोठा भाडामा लिएर सुरु गरे ‘डाइनामिक टेक्नोसफ्ट’ ।

Advertisement
Advertisement

‘डाइनामिक’ अर्थात् सधैं चल्ने, परिवर्तनशील । अनि ‘टेक्नोसफ्ट’ अर्थात् टेक्नोलोजी र सफ्टवेयरको संगम । नामले नै कम्पनीको गतिशील सोच र सफ्टवेयरको माध्यमबाट समाधान दिने उद्देश्य झल्काउँछ ।

Advertisement

सुरुवात त सधैं कठिन हुन्छ । वीरगन्ज गर्मी ठाउँ भएपनि आईटीको माहोल त्यति तातो थिएन । उनीहरूलाई मुख्यत: आवश्यक लगानीकै अभाव थियो । स्थानीय स्तरमा प्राविधिक मान्छे पनि खासै थिएनन् । अर्कोतर्फ बजारसम्म पुग्न धेरै संघर्ष गर्नुपर्थ्यो ।

तर यी युवा हार मान्ने खालका थिएनन् । उनीहरूमा अटुट विश्वास र नयाँ सोचको ऊर्जा थियो । भन्छन् नि, ‘जहाँ इच्छा, त्यहाँ उपाय ।’ उनीहरूको चाहना बलियो थियो । त्यसैले त आज डाइनामिक टेक्नोसफ्टले नेपालको सफ्टवेयर क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।

त्यतिबेला व्यापार-व्यवसाय तथा सेवा क्षेत्रमा समेत सफ्टवेयर किनेर चलाउनुपर्छ भन्ने ज्ञान थिएन । यस्तोबेला विद्यासदन, मास्कर्ड र एन्जल स्कुललाई यी तीन युवाले डाइनामिक एकेडेमिक ईआरपी प्रतिवर्ष १० हजार रुपैयाँमा खरिद गर्न राजी बनाए । त्यहीँबाट डाइनामिक टेक्नोसफ्टको व्यावसायिक यात्रा अगाडि बढ्न थाल्यो । वीरगञ्ज उद्योग वाणिज्य संघको सफ्टवेयर बनाएपछि कम्पनीले थप प्रगति गर्‍यो ।

वीरगञ्जबाट सुरु भएको यो कम्पनीको यात्रा बिस्तारै देशका मुख्य सहरहरूमा फैलियो । सन् २०१७ मा आइसक्दा ५० जिल्लामा कम्पनीका ग्राहक विस्तार भए । काठमाडौंमा कर्पोरेट कार्यालय खोलियो । बुटवल, इटहरी, पोखरा, नेपालगञ्ज हुँदै आज सातै प्रदेशमा ५० बढी आधिकारिक डिलरमार्फत कम्पनीले सेवा दिइरहेको छ । त्यतिमात्रै नभई, भारतको चेन्नईमा समेत कार्यालय खोली त्यहाँको बजारमा कम्पनीले ग्राहक विस्तार गरिरहेको छ ।

“कम्पनीको प्रडक्टमा विश्वास थियो । तर अरू जिल्लामा बजार विस्तार गर्न जाँदा धेरै अप्ठ्यारा आए । वीरगन्जमा स्थापना भएको कम्पनी भन्दा विश्वास नै गर्थेनन्,” सुरुवाती दिन सम्झिँदै सीईओ दीपक साह भन्छन्, “टेक्नोलोजी काठमाडौँमा पहिला आउँछ भन्ने सोच थियो । हामीले मोफसलबाट सेवा दिन थालेका थियौँ । सेवाग्राहीको मन जित्न धेरै समय लाग्यो ।”

अनेक हन्डर ठक्कर, तर आत्मविश्वास र ग्राहक सन्तुष्टिले डाइनामिक टेक्नोसफ्ट अगाडि बढ्दै गयो । हालैमात्र स्थापनाको १५ वर्ष पूरा गरेको कम्पनीमा संस्थागत ग्राहक संख्या २२०० नाघेको छ । खुसीको कुरा त के छ भने कम्पनीका सेवा लिनेहरू नेपालमा मात्र नभई भारत र जापानसम्म फैलिएका छन् । निजी कम्पनीदेखि सरकारी संस्थासम्मले डाइनामिक टेक्नोसफ्टले विकास गरेका ईआरपी र सफ्टवेयर सेवालाई विश्वास गरेका छन् । सानोदेखि ठुलासम्म विभिन्न क्षेत्रका कम्पनीहरूले उनीहरूको समाधान प्रयोग गरिरहेका छन् ।

धेरैलाई थाहा नहुन सक्छ, डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । आन्तरिक राजस्व विभागले आर्थिक कारोबारको पारदर्शिता र कर संकलन प्रक्रियालाई थप प्रभावकारी बनाउनका लागि जारी गरेको ईनभ्वाइस प्रणाली तथा सफ्टवेयर प्रमाणीकरणसम्बन्धी व्यवस्था (२०७३ सालको आन्तरिक राजस्व ऐनअनुसार) को मापदण्ड अनुसार डाइनामिक टेक्नोसफ्टले आवश्यक प्रविधि, सुरक्षा र प्रणालीगत पूर्वाधार पूरा गरी आधिकारिक रूपमा ईआरपी सेवा प्रवाहको स्वीकृति पाएको हो ।

“डाइनामिक टेक्नोसफ्टले आफ्नो कामलाई एउटा विशेष दर्शनबाट डोर्‍याउँछ त्यो हो- CLEAR,” सीईओ साह भन्छन्, “यो केवल एउटा शब्द नभइ हाम्रो लागि पाँच मूल मन्त्र हो । क्लाइन्ट-फोकस्ड, लिडरशिप, इफेक्टिभ, एस्पिरेसन र रिजल्ट हो ।”

उनी अगाडि भन्छन्, “हाम्रो मिसन नेपालको दिगो आर्थिक समृद्धिका लागि प्रविधिगत रूपान्तरणमा सहजीकरण गर्नु हो । हामीलाई पूरा विश्वास छ कि नेपाललाई डिजिटाइज गरेर समृद्ध बनाउने लक्ष्य पक्कै पूरा हुनेछ ।”

कम्पनीका मुख्य उत्पादन

डाइनामिक टेक्नोसफ्टले सफ्टवेयर डेभलपमेन्टदेखि ईआरपी प्रणाली, मोबाइल एप बनाउनेदेखि वेबसाइट र होस्टिङसम्म, अनि अनलाइन हाजिरी व्यवस्थापनसम्म कम्पनीले धेरैथोक गर्छ । यसअन्तर्गत कम्पनीका केही उत्पादन विशिष्ट छन् ।

‘डाइनामिक ईआरपी’ जसले बिजनेस र एडमिनिस्ट्रेसनलाई चुस्त बनाउँछ । त्यस्तै ‘एकेडेमिक ईआरपी’ ले विद्यालय र कलेजको व्यवस्थापन सजिलो बनाइदिएको छ । ‘हस्पिटल ईआरपी’ ले स्वास्थ्य सेवा क्षेत्रमा सहजता ल्याएको छ ।

त्यस्तै, ‘एचआरएम/पे-रोल सिस्टम’ मानव संशाधन व्यवस्थापनलाई व्यवस्थित गर्न बनाइएको हो भने ‘सीईएमएस ईआरपी’ ले स्थानीय सरकारलाई काम गर्न सहज बनाइरहेको कम्पनी बताउँछ । अनि व्यापार संघ र संस्थाहरूको लागि कम्पनीले विशेष सफ्टवेयर नै बनाएको छ । सीईओ साहका अनुसार डाइनामिक टेक्नोसफ्टका ईआरपी प्रणाली ८०० भन्दा बढी विद्यालय र कलेजमा अनि १०० भन्दा बढी अस्पताल र मेडिकल कलेजमा चलिरहेको छ ।

भेन्चर कम्पनीका रूपमा सेवा क्षेत्र विस्तार

कम्पनीका सहसस्थापकहरु दीपक साह सीईओ, सचिन साह सीटीओ (चिप टेक्निकल अफिसर) र अर्जन साह चिफ अपरेटिङ अफिसर (सीओओ) को भूमिकामा छन् । डाइनामिक टेक्नोसफ्ट अहिले एउटा भेन्चर कम्पनीको रूपमा ठुलो परिवार जस्तै बनिसकेको छ । आज यस समूह अन्तर्गत आठ ओटा सहायक कम्पनीहरू चलिरहेका छन् । यी कम्पनीहरूले प्रविधि, निर्माण, वित्तीय र सेवा जस्ता विभिन्न क्षेत्रमा काम गरेर समूहलाई अझ बलियो बनाएको सीईओ साह बताउँछन ।

कम्पनीका ग्राहकहरू पनि विभिन्न क्षेत्रबाट आएका छन् । शैक्षिक क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजले डाइनामिक टेक्नोसफ्टलाई विश्वास गरेका छन् भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल र मेडिकल कलेजले यस कम्पनीको सफ्टवेयर प्रयोग गरिरहेका छन् । १५ भन्दा बढी ठुला कर्पोरेट घरानाहरूले डाइनामिक टेक्नोसफ्टको एचआरएम/पे-रोल सिस्टम अपनाएका छन् ।

हाल डाइनामिक टेक्नोसफ्ट समूह अन्तर्गत १५० बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

अवार्ड तथा उपलब्धि

यो १५ वर्षको अवधिमा गरेका कामले डाइनामिक टेक्नोसफ्टलाई बजारमा छुट्टै पहिचान दिलाएको छ । गत वर्ष कम्पनीले नेपाल सरकारबाट राष्ट्रिय आईसीटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) पायो । त्यस्तै, जापानमा भएको एसोसियो सम्मेलनबाट यस कम्पनीले एसोसियो एडटेक अवार्ड २०२४ जित्यो । यी उपलब्धिहरूले कम्पनीको सेवाको गुणस्तरमाथि सबैको विश्वास बढाएको साह बताउँछन् ।

भावी योजना

डाइनामिक टेक्नोसफ्टले आफ्नो जन्मथलो मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने योजना बनाएको छ । विशेषगरी त्यहाँ प्रशिक्षण केन्द्र खोलेर स्थानीय प्रतिभालाई विकास गर्ने कम्पनीको कार्यक्रम छ । साथै कम्पनीको नजर अब दुबई, मलेसिया र इन्डोनेसिया जस्ता अन्तर्राष्ट्रिय बजारमा पुगेको छ ।

“डाइनामिक टेक्नोसफ्ट मधेशमा जरा गाडेर पनि विश्वका चुनौतीहरू सामना गर्न तयार छ,” सीईओ साह भन्छन्, “हामी भविष्यमा थप योजनाबद्ध तरिकाले आउनेछाैँ ।” -टेक पाना

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर