कलैया, १६ जेठ। बारामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत भैसाली ग्राम हुसेनाराके–१२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र भारत मोतिहारी ग्राम कटगेनवा–२ बस्ने १८ वर्षीय चन्दनकुमार पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट बिहीबार बिहान उनीहरुको साथबाट प्रतिबन्धित लागू औषध ट्रमाडोल हाइड्रोकोलोराइड क्याप्सुल २१६० पत्ता (२१ हजार ६ सय ट्याबलेट) बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ बियु ३४८५ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कारको पछाडीको सिट मुनी, दायाँ बायाँ ढोकामा फल्स बटम् बनाई लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध बरामद गरिएको हो । बरामद भएको लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।