कलैया, ३१ जेठ। बाराको निजगढमा नेपाल विद्युत् प्राधिकरणका पुर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपालका नायक कुलमान घिसिङलाई स्वागत गर्दै नागरिक अभिनन्दन गरिएको छ।
शुक्रबार आयोजित उक्त कार्यक्रममा विगतमा विभिन्न चरणमा निजगढको समस्यालाई कुलमान घिसिङ समक्ष राख्दै गरिएका काम र प्रगतिको स्मरण गराउदै आगामी दिनहरुमा पनि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
उक्त कार्यक्रममा बोल्दै घिसिङले आफूले ८ वर्षदेखि ऊर्जा क्षेत्रमा इमान्दारीका साथ कर्तव्य निर्वाह गरेकामा वर्तमान सरकारले सोको मूल्याङ्कन नगरेको आरोप लगाएका छन् । उनले ऊर्जा क्षेत्रमा सरकारले इमानदारी र पारदर्शीरूपमा काम गरे मुलुकको आर्थिक समृद्धि धेरै टाढा नरहेको दाबी गरे ।
लाखौं जनताले सडक, सामाजिक सञ्जालबाट आफ्नो पक्षमा समर्थन गरेको र सदनसमेत पाँच दिन अवरुद्ध भएकोले एउटा कर्मचारीका लागि यति ठूलो जनसर्मथनले आफु उत्साहित रहेको बताए। एउटा कर्मचारीको पक्षमा यो इतिहास कायम भएको छ र यस्तै काम सबैले गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेको घिसिङले बताए ।
एकदमै नाजुक घाटा अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा ल्याएर लामो समयदेखि लोडसेडिड्ढो मारमा जनता प्रताडित भएर बस्नुपर्ने अवस्था आफ्नो कार्यकालमा अन्त्य भएको उनले बताए । करीब शतप्रतिशत जनताको पहुँचमा विद्युत् पुुर्याएको बताउँदै उनले भारत र बङ्गलादेशसम्म विद्युत् निर्यात गर्न सफल भएको बताए ।
उनले गत वर्ष १७ अर्बको विद्युत् निर्यात भएको र आगामी दिनमा विद्युत् निर्यात अझै बढ्ने आफूले विश्वास लिएको बताए । सरकारले आफूलाई बर्खास्त गरेपछि नेविप्रा राम्रो अवस्थामा नरहेको, घाटा देखाएर जारी गरिएको श्वेतपत्र हास्यास्पद भएको उनले टिप्पणी गरे । उनले नेविप्रा ४७ अर्ब सञ्चित नाफामा रहेको ठोकुुवा गरे ।
उनले गत वर्ष मात्रै साढे १० अर्ब नाफा गरेको बताए । मुलुकमा विद्युतीकरण ९९ प्रतिशतभन्दा बढी भएको छ भनेर आर्थिक सर्वेक्षणमार्फत बजेट वक्तव्यमा आउँदा आफ्नो नेतृत्वको प्रशंसा स्वयम् सरकारले गरेको उनको जिकिर थियो । मुलुकमा समृद्धिको आशा जगाउने एकमात्र माध्यम ऊर्जा क्षेत्र रहे पनि अहिले सरकारले निराशा जगाउने खालका कुप्रचार गर्ने कार्य गम्भीर र आपत्तिजनक रहेको पूर्व कार्यकारी प्रमुख घिसिङले दोहोर्याए ।
उज्यालो नेपाल अभियान निजगढको आयोजनामा भएको स्वागत तथा नागरिक अभिनन्दन कार्यक्रममा वरिष्ठ सिने कलाकार युवराज लामा, नेता बेनीबहादुर मोक्तान, कुमार मोक्तानलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत मन्तव्य रविराज दङ्गालले र कार्यक्रमको सञ्चालन प्रतीक भ्लोनले गरेका थिए ।