कलैया, १७ असार । पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकम सहित बाराका एक सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका वडा नं ४ बस्ने ४४ वर्षिय दिपक कुमार सोनार, पर्साको पकहामैनपुर गाउँपालिका वडा नं २ बस्ने २६ वर्षिय अनिल कुमार वर्णवाल र वीरगन्ज महानगरपालिका वडा नं ३ आदर्शटोल बस्ने २३ वर्षिय बिनित कुमार श्रीवास्तव रहेका छन्।
वर्णवाललाई वीरगन्ज-१० मकालु चौक, श्रीवास्तवलाई वीरगन्ज-८ कृषि विकास बैंक लिंकरोड र सोनारलाई वीरगन्ज-१६ रजतजयन्ती चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
प्रहरीले वर्णवालको साथबाट एक हजार, ५ सय र एक सयको दरको ९ लाख ४७ हजार रूपैयाँ, श्रीवास्तवको साथबाट एक हजार, ५ सय र एक सयको दरको १५ लाख ८१ हजार र ना १६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार सोनारको साथबाट एक हजार, ५ सय र एक सयको दरको ३ लाख हुण्डी रुपैयाँ बरामद गरेको हो।
उनीहरूको साथबाट प्रहरीले विभिन्न बैंकहरुको चेक बरामद गरेको छ भने पर्सा जिल्ला अदालतबाट मुलुकी अपराध संहिता, २०७४ को दफा १२४ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान गरिरहेको छ।