कलैया, ११ साउन। यति बेला मधेसमा पानीको हाहाकार छ। धानको खेती गर्न पानी छैन, खानको लागि पनि पानी छैन। पानीको मुहान सुकेको छ। भुमिगत जलको सतह पनि गहिरिएको छ। यहाँ नागरिक पानीको लागि प्रार्थना गरिरहेका छन्।
यति हुँदाहुँदै तपाईंले कहिल्यै सोच्नुभएको छ,किन यि मुहानहरु सुके? हामीले पक्की घर बनाउँदा घरको आँगनमा पनि ढलान गर्यौँ, चपाकलबाट पानीको निकास गर्न नाला निर्माण गरेर सिधैं त्यो पानीलाई नालाको माध्यमबाट नदीमा पुर्यायौं। जसले गर्दा वर्षाको पानी होस् या चापाकलको पानी हाम्रो घरको वातावरणमा तल जान पाएनन्। सिधैं बैकल्पिक माध्यमबाट नदी, नहर पोखरीमा पुगे। तर हामी पानीलाई आफ्नो कलमा, धारामा खोज्दै छौँ।
अहिले सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको जिल्लाहरुमा पानी रिचार्ज गर्न सुझाव दिदै छ। पानीको मुहान सुक्नुमा विभिन्न कारणहरु मध्ये एउटा सपेताको रुख पनि हो। सपेता रुखलाई स्थानीय भाषामा कतै मसला, भिक्स, निलगिरी आदि नामले पनि चिनिन्छ । रुखबाट एकप्रकारको गन्ध आइरहने भएकाले पनि स्थानीयले यसलाई मसला वा भिक्स नामाकरण गरेका हुन् । तर, यो प्रजातिको वास्तविक नाम भने ‘इक्युलिप्टिस’ हो ।
युकेलिप्टस (सपेता) रूखको बेफाइदा यो हो कि यसले एक सेकेन्डमा नै जराभन्दा ८ फिट तलसम्म धेरै पानी सोस्न सक्छ। यसले ताल र खोलाहरू सुकाउन सक्छ र भूजलको स्तर घटाउन सक्छ। यी रूखहरूले माटोबाट पानी छिट्टै सोस्छन्, जसले गर्दा अन्य बोटबिरुवाहरू तिर्खाएका र कुपोषित हुन्छन् अर्थात् राम्ररी विकसित हुन सक्दैनन्।
एउटा रिपोर्टले अस्ट्रेलियाबाट भित्रिएको यो रुख सन् १९३० मा पहिलोपटक बंगलादेशमा रोपिएको बताएको छ। त्यतिबेला सपेताको रुख पूर्वी बंगलादेशका चियाबगानमा रोपिएको थियो। रिपोर्टका अनुसार लापरवाहीपूर्वक रुख रोपिँदा पानीको सतह र स्रोतमा समेत असर पुगेको थियो । पूर्वी बंगलादेशका चियाबगानमा लापरवाहीपूर्वक रुख रोपिएको, त्यसले असर देखाउन थालेपछि सन् १९९५ मै बंगलादेश सरकारको वन तथा वातावरण विभागले यो प्रजातिको रुख रोप्ने कार्यक्रम हटाएको र उप्रान्त नरोप्न पनि नागरिकलाई सचेत गराएको थियो।
नेपालमा सपेताको ईतिहास
वन पैदावार विकास समिति गठन आदेश–२०३३ अनुसार विभिन्न वन विकास समितिहरु स्थापना भए । त्यसैअनुरुप २०३५ सालमा सर्लाही, रौतहट र महोत्तरी कार्यक्षेत्र हुने गरी २०३५ सालमा सागरनाथ वन विकास परियोजना सुरु भयो ।
त्यही परियोजनाले पहिलो पटक अस्ट्रेलियाबाट इक्युलिप्टिस अर्थात् मसलाको रुख नेपाल भित्र्याएको थियो । सुरुमा अस्ट्रेलियाबाट मसला रुखको बिउ ल्याएर उत्पादन गरिएको थियो।
विभिन्न पालिकाहरुले सपेताको रुख काट्न सुचना पनि जारी गरे
मधेस प्रदेशको महोत्तरी र सिरहाका नगरपालिकाहरुले सपेताको रुख काट्न सुचना नै निकालेका थिए। सिरहाको कर्जन्हा नगरपालिकाले त “आफुले लगाएको मसला (सपेता) को रुख, मेरो रुख म काट्छु।” भन्ने अभियान नै चलाएको थियो।
कर्जन्हा नगरपालिकाले २०८१ साल जेठ ३१ गते पानीको मुहान सुक्दै जाने, भुमिगत पानीको सतह गहिरिएर इनार (कुवा) सुक्ने, पोखरी, तालहरू सुक्ने, चापाकलहरु, बोरिङहरुले साविकको तुलनामा पम पानी दिने तथा सुक्दै जाने, पानीका मुहान तथा स्रोतहरू सुक्दै जाने, नदीनालामा पानीको सतह कम हुने तथा सुक्ने, खानेपानीको समस्या बढ्दै जाने, सिचाईको अभावले खेतीपातीमा समस्या आउने, मरुभूमिकरण हुने, अत्याधिक आगलागी हुने, हावाहुरीमा रुख भाँचिएर रुख ढली छर छिमेकमा भएको घरहरू भत्काउने, माटोको उर्वराशक्ति कमजोर हुने, पानी बढी सोस्ने लगायतका समस्याहरु उत्पन्न हुनुमा सपेताको रुख पनि एक रहेको र अनुसन्धानबाट पनि त्यहिँ देखिएकोले सपेताको रुख काट्न सुचना निकालेको थियो।
यस्तै महोत्तरीको मनराशिसवा नगरपालिकाले २०८१ साउन १५ गते नगरपालिका लगायत मधेश प्रदेशको सम्पुर्ण क्षेत्रमा पानीको सतह निकै नै तल गएको र यसको कारण मुलरुपले सपेता नै रहेको र १२ औं नगरसभाको निर्णय अनुसार कृषि योग्य जमीन तथा पानीको सतह सुरक्षित राख्न सपेताको रुख विस्थापित गरी अन्य प्रजातिको विरुवा लगाउन सुचना निकालेको थियो।
एउटा रिपोर्ट
“सपेताको रुख अनुकूलन क्षमताको सन्दर्भमा, सपेता अन्य बारहमासी रूखहरूको तुलनामा एक अद्वितीय रूख प्रजाति हो। जब यसको पानीको आवश्यकता प्रति दिन प्रति बोट ९० लिटरसम्म बढ्छ, यसले अतिरिक्त पानीको परिस्थितिमा कुशलतापूर्वक समायोजन गर्न सक्छ। जब यसको पानीको आवश्यकता प्रति दिन प्रति बोट ४०-५० लिटरमा झर्छ, यो पानीको अभावमा पनि सफलतापूर्वक बढ्न सक्छ।
अन्य बारहमासी प्रजातिहरू भन्दा फरक, यो यसको जरा प्रणालीको वरपरको ठूलो क्षेत्रबाट पानी तान्न सक्षम छ। तनावको अवस्थामा, यसको जरा ६-९ मिटरसम्म पनि बढ्न सक्छ र बढी पानी निकाल्न सक्छ। वास्तवमा, डलबर्गियासँगै युकेलिप्टसलाई जैविक जल निकासी प्रजातिको रूपमा सिफारिस गरिन्छ जसले पानीको निकासको राम्रो सम्भावनालाई संकेत गर्दछ।”
( विभिन्न अनुसन्धान र रिपोर्टको सहयोगमा)