कलैया, १४ साउन। मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुख्खाग्रस्त क्षेत्रका अति जोखिममा परेकालाई तत्काल राहतदिने निर्णय गरेको छ । मंगलबार मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित बसेको बैठकले सो निर्णय गरेको हो।
बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शाङ्कन गरी समितिमा पेस गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवं समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले डिप बोरिङ तथा स्यालो ट्युबवेल जडान गर्नुपर्ने आवश्यकता भए दोहोरोपना नहुनेगरी प्राथमिकता दिने र त्यसका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, ७ दिन भित्र सुख्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार गरी समितिमा पेस गर्नेलगायत निर्णय गरेको हो।