कलैया, ७ कात्तिक । निर्वाचन आयोगमा १५ वटा नयाँ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन्। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।
१५ दलको कागजात स्वीकृतिका लागि अध्ययन भैरहेको आयोगले जनाएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रक्रिया पुग्नेहरुलाई आवेदन स्वीकृत हुनेछ । जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकारले संसद विघटन गरेको थियो।
निर्वाचन घोषणापछि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गत असोज ७ गते दल दर्ताको लागि निवेदन दिएको थियो । त्यस्तै अधिवक्ता डा सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टीले गत असोज ९ गते आयोगमा दर्ताका लागि निवेदन दिएको थियो ।
लगायत अन्य गरि १५ वटा निवेदन प्राप्त भएको आयोगले जनाएको छ।
नेपालको संविधान, २०७२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान, नियमावली र घोषणापत्र २/२ प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिन्ह, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय श्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनुपर्छ ।

















