कलैया,०६ मंसिर । सशस्त्र प्रहरी बलले रौतहटबाट दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ का २२ वर्षीय सुमन आचार्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट उक्त पेस्तोलसहित युवकलाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ ।
बरामद पेस्तोल तथा अन्य सामानसहित उनलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
















