कलैया, ०१ पौष। नेपाली समाजमा च्याउलाई खानामा उच्चस्थान दिइएको छैन तर यो पौष्टिक तत्वले भरिपुर्ण र यसको स्वाद अत्यन्तै स्वादिष्ट भएको हुँदा नेपाली बजारमा यस्को मूल्य अधिक रहेको देखिन्छ । च्याउमा अत्यन्त महत्वपूर्ण पौष्टिकतत्वहरु पाइन्छन् ।
च्याउमा मुख्य गरेर प्रोटिन, भिटामिन र विभिन्न मिनरल्स (धातु) पाइन्छ । च्याउको प्रोटिनमा पनि विभिन्न प्रकारको एमिनोएसिड्स पाइन्छ र तिनीहरु हाम्रो शरीरको लागि नभइनहुने तत्व हुन् । भिटामिनमा ए, बी, र सी प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै खनिज पदार्थमा क्याल्सियम, फोस्फोरस आदि पाइन्छ, त्यसैले च्याउलाई एक पौष्टिक खानाको रुपमा लिन सकिन्छ ।
कन्ये च्याउका विभिन्न प्रजातीहरु नेपालमा जंगली अवस्थामा उम्रेको पाइन्छ तर यस्ता च्याउहरु प्राय; रङ् बिरङी हुन्छन र छातामा विभिन्न रङको थोप्ला हुन्छ तर खाने योग्य च्याउ एकैनासको सेतो हुन्छ जस्ले गर्दा जंगली च्याउ र खाने योग्री च्याउ सजिलै छुट्याउन सकिन्छ। यो कन्ये च्याउ हिउँदे महिना उत्पादन हुने र तराइको मौसम अनुसार अहिले सजिलै घर्मै खेती गर्न सकिन्छ ।
यो च्याउलाई अंग्रेजीमा Oyster mushroom भनिन्छ भने यसको वैज्ञानिक नाम Pleurotus spp हो । यो च्याउका धेरै प्रजातीहरु मध्ये संसार भरमा २५ वटा प्रजातीहरुको व्यवसायिक खेती भइरहेको पाइन्छ। नेपालमा खेती गरिएका कन्ये च्याउका प्रजातीहरुमा Pleurotus sajor-caju, Pleurotus florida Pleurotus oestreatus प्रमुख हुन भने केही कृषकहरुले वातानुकुलित वातावरणमा Pleurotus eryngii को खेती गरिरहेका छन् ।
कन्ये च्याउको खेती धानको परालमा गरिन्छ । तर पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । यसको लागि तापक्रम २०-२५ डिग्री सेल्सस र सापेक्षित आर्द्रता ८० प्रतिशत हुनु पर्छ । भौगोलिक दृष्टिकोणले हिमाल र पहाडमा चैत्र महिनादेखि कार्तिक महिनासम्म खेती गरिन्छ भने तराईमा कार्तिकदेखि माघसम्म यसको खेती सफल गरिन्छ। त्यसकारण अहिले मौसम कन्ये च्याउको लागि उपयुक्त भएकोले यसलाइ तल बताए झै घरमै खेती गरि ताजा च्याउ उत्पादन गर्न सकिन्छ ।
आवश्यक सामाग्री
सुकेको पराल, गहुँको छवाली, च्याउको बीउ, प्लाष्टिक थैला (१२x१८ इन्च वा १६x२४ इन्च साइजको), पराल काट्ने औजार, पराल बफाउन माटोको पोटासी वा ड्रम, थैला काट्ने ब्लेड वा चक्नु यसको अलावा एउटा सजिलै हावा पस्ने अध्यारो कोठा जहाँ उत्पादन हुन्छ।
उमार्ने माध्यम ( सब्ट्रेट ) को त्यारी
सबै भन्दा पहिला धानको सुख्खा पराललाई ३–५ से.मि. मा काटेर एउटा ड्रममा सफा पानीमा डुबाउनु पर्छ त्यसपछी परालमा भएको सुक्ष्म जिवलाइ मार्न फेरि ६५–७०°C को तातो पानीमा ३० मिनेट डुबाएर निष्टिकरण (pasteurize) गरिन्छ । भिजाएको परालमा बढी भएको पानी हटाउन ४-५ घण्टासम्म भिरालो ठाउँमा फिंजाई पानी तर्काउने परालमा ठीक्क चिस्यानको मात्रा छ छैन भनी जाँच्नका लागि मुट्ठीमा पराल राखेर निचोर्दा पानी ननिस्कने तर हत्केला चिसो भएको भए अब यसलाइ सफा प्लास्टिकमा भरेर च्याउको बीउ रोप्न तयार हुन्छ।
प्लास्टिक थैलीमा च्याउको बीउ रोप्ने तरिका
च्याउको बीउ ( Spawn ) नजिकको कृषि ज्ञान केन्द्रमा वा एग्रो पसलमा बीउ बोटल वा सेतो प्लास्टिक थैलीमा मिल्छ । परालमा बीउ राखु अघि बीउ राखे कोठा, प्रयोग हुने औजार तथा हातको राम्ररी निर्मलीकरण गर्नु पर्दछ । च्याउको बीउलाई सफा सुइरोको प्रयोग गरी बोतलबाट सफा भाँडोमा वा पत्रिकामा खनाउनु पर्दछ । छायामा सुकेको पराललाई सफा ठूलो प्लाष्टिक थैलीमा राखी ती थैलीमा ४ इन्च जति पराल राखी वीउ छर्ने र फेरी ४ ईन्च पराल राख्ने र वीउ छर्ने। यसै गरी ४-५ तहसम्म वीउ छर्ने। परालमा ढुसी राम्रोसंग फैलाउन राम्रो तरीकाले थिच्नुपर्छ ।
प्लाष्टिकभित्र केही मात्रामा अक्सिजनको आवश्यकता पर्ने भएकाले १० से.मी. फरकमा वा ४ औलाको फरकमा १ से.मी. गोलाईको प्वाल पार्ने र त्यो प्वालमा रुइ ( cotton ) राख्ने ।
रोपी सकेको प्लाष्टिकको झोलालाई अँध्यारो ठाउँमा २२-२५ डि.से. तापक्रम भएको कोठामा झ्याल ढोका बन्द गरी २१ दिनसम्म राख्नुपर्दछ । १६×२४ इन्च साइजको एउटा थैलाको लागि २०० ग्राम च्याउ बीउ आवश्यक पर्दछ । जसको लागि लगभग ३ के.जी. सुकेको पराल आवश्यक पर्दछ । बल वा डल्लो जति खँदिलो भयो त्यति नै च्याउको उत्पादन राम्रो हुन्छ ।
थैली वा ड्ल्लाको हेरचाह
२२-२५ डि.से भएको कोठामा झुन्डियाएर राखेको डल्लामा ३ हप्ताभित्र च्याउको ढूसी परालमा फैलिएर सेतो हुन्छ । यसपछि प्लाष्टिक च्यातेर सेतो डल्लालाई भुईमा वा ऱ्याकमा राख्नुपर्दछ । भुईमा राख्दा इँटा वा काठको फल्याक तलतिर राखी एक एक वित्ता फरक गरी लाइनमा राख्नुपर्दछ । यो बेला कोठाको झ्याल खोली प्रशस्त घाम नलाग्ने गरि हावाको सन्चार राम्रो गर्नुपर्छ । दिनको २-३ पटक सम्म मसिनो फोहरा जस्तै गरी सफा पानी डल्ला मात्र भिज्ने गरी छर्कनुपर्दछ पानीको मात्रा परालको डल्लामा भन्दा डल्लाको वरिपरि बढी हुनुपर्छ । यस समयमा कोठाको तापक्रम २०-३० डिग्री सेल्सस हुनुपर्छ ।
च्याउ टिप्ने तरिका
डल्लाबाट प्लास्टिक च्यात्तिएको ४-५ दिनमा च्याउ टिप्न त्यार हुन्छ । च्याउको टुप्पो आधा खुलेको र किनार अझै भित्र मोडिएको अवस्थामा टिप्नु सबैभन्दा राम्रो हुन्छ। धेरै ठूलो भइसकेपछि टिप्दा स्वाद र गुणस्तर घट्छ। च्याउलाई हातले हल्का घुमाउँदै जरा सहित निकाल्ने वा सफा चक्कुले तलबाट काट्ने गरिन्छ। टिपेपछि वरिपरिको फोहोर हटाई सफा टोकरी वा ट्रेमा राख्नुपर्छ। च्याउ टिपेपछि त्यस स्थानमा हल्का पानी छर्केर अर्को फल आउन सहयोग पुर्याउनुपर्छ। सामान्यतया एउटा डल्लाबाट तीन पटकसम्म च्याउ उत्पादन लिन सकिन्छ भने १ किलो परालबाट ३०० देखि ४०० ग्रामसम्म च्याउ उत्पादन लिन सकिन्छ ।
च्याउ उत्पादनमा अपनाउनु पर्ने केही सावधानीहरु ;
२% फर्मालिनको घोल छरेर च्याउ घरलाई २४ देखि ४८ घण्टासम्म हावा बन्दा गरेर पनि प्रभावकारी रुपमा विसंक्रमण गर्न सकिन्छ ।
च्याउ खेतीमा प्रयोग हुने औजार तथा उपकरणहरुलाई पनि राम्रोसँग विसंक्रमण गर्नु पर्दछ।
रोग किराको व्यवस्थापनको उपाय समयमा अपनाउने र रोग किराले बढी ग्रस्त डल्लाहरुलाई समयमा हटाउनु पर्दछ ।
धेरै पुरानो र धेरै फोहोर परालको प्रयोग गर्नु हुँदैन ।
च्याउको डल्लामा धेरै पानी सिधै हाल्नु हुँदैन। पानी हाल्ला डल्लाको वरिपरी पानी उत्पादन घरको सापेक्षिक आद्रता ८० प्रतिशत हाराहारीमा कायम गर्नु पर्दछ ।
कुनै कुनै परालको पोकामा सेतो ढूसी नआइन, कालो, निलो, हरियो ढूसी आउन सक्छ । यस्तो आएको पोका त्यहाँबाट हटाई माटोमा गाडि दिनुपर्छ।
च्याउ फल्न थाले पश्चात पर्याप्त हावाको संचार र उज्यालो हुनु पर्दछ नत्र च्याउको डाठ मात्र बढ्छ।
सफा पानीको प्रयोग गर्ने घर वरपरको सरसफाईमा समेत पर्याप्त ध्यान दिनु पर्दछ।
(राजेश्वर मन्डल पन्जाब टेक्निकल युनिभर्सिटी बाट कृषिमा स्नातक गरेका छन् ।)
















