कलैया,४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी बाराको चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयहरित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लाका विभिन्न स्थानमा सुरक्षा निकायहरूको संयुक्त परिचालन सुरु गरिएको छ।
बाराको चारवटै निर्वाचन क्षेत्रका संवेदनशील एवं अन्य सबै क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गस्ती (पेट्रोलिङ) सुरु गरिएको हो। निर्वाचनको मिति नजिकिँदै गर्दा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेना लगायत अन्य सुरक्षाकर्मीहरूले दिन र रात दुवै समयमा संयुक्त पेट्रोलिङ सञ्चालन गरिरहेका छन्।
निर्वाचनको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र मतदाताहरूलाई सुरक्षित तवरले मतदान गर्ने वातावरण सिर्जना गर्न सुरक्षा टोलीहरू विभिन्न टोल र बस्तीहरूमा पुगिरहेका छन्। जिल्लाभरका मतदान केन्द्र र मतगणना स्थलहरूको सुरक्षा संवेदनशीलतालाई हेर्दै सुरक्षाकर्मीहरूको परिचालनलाई थप प्रभावकारी बनाइएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रले पूर्ण तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ।





