कलैया, १६ फागुन। जिल्ला प्रहरी कार्यालय बाराले आसन्न होली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन विशेष अनुरोध गरेको छ। प्रहरीले एक सूचना जारी गर्दै पर्वका नाममा उच्छृङ्खल गतिविधि नगर्न र कानुनको उल्लंघन नगर्न समेत सचेत गराएको हो।
प्रहरीले होलीलाई आपसी सद्भाव र खुसी साटासाट गर्ने पर्वको रूपमा मात्र लिन र कसैको इच्छा विपरीत रङ्ग, लोला, मोबिल, केमिकल वा फोहोर फाल्ने जस्ता कार्यहरू नगर्न सचेत गराएको छ। साथै, ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा साउन्ड सिस्टम नबजाउन र असभ्य जस्ता काम नगर्न पनि प्रहरीले आग्रह गरेको छ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले बालबालिका, महिला, ज्येष्ठ नागरिक र पैदल यात्रीहरूलाई होली खेल्ने नाममा कुनै पनि प्रकारको करकाप वा दुव्र्यवहार नगर्न आग्रह गरेको छ। त्यसैगरी, सामाजिक सञ्जालमा भ्रम फैलाउने वा उत्तेजित पार्ने खालका सामग्रीहरू पोष्ट नगर्न र ट्राफिक नियमहरूको पूर्ण पालना गर्न प्रहरीले जोड दिएको छ। होली पर्वको अवसरमा गाँजा, भाङ वा कुनै पनि नशालु पदार्थको सेवन तथा बिक्री वितरणमा कडा प्रतिबन्ध लगाइएको र यस्तो कार्य पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाइएको छ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रहरीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न समेत आग्रह गरेको । यस अघि जिल्ला प्रशासन कार्यालय बाराले मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । यस्तै प्रहरीले अवाञ्छित वा आपराधिक गतिविधि भएको पाइएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० तथा जिल्ला प्रहरी कार्यालय बाराको ९८५५०४५१०१ मा सम्पर्क गरी सूचना दिन अनुरोध गरेको छ।





