कलैया, १९ फागुन । नेपाल आयल निगमले आसन्न निर्वाचनको समयमा पेट्रोलियम पदार्थको आपूर्ति नियमित रहने स्पष्ट पारेको छ। निगमले इन्धनको आयातमा कुनै अवरोध नभएकाले आम सर्वसाधारणलाई अनावश्यक रूपमा घरमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली सहज रहेकाले उपभोक्ताहरू आत्तिनुपर्ने अवस्था नरहेको निगमको भनाइ छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार एक सूचना जारी गर्दै निर्वाचनभरि नै इन्धनको आपूर्ति नियमित हुने जानकारी दिएका छन्। उनले पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेकाले बजारमा अभाव नहुने स्पष्ट पारेका छन्। अनावश्यक रूपमा इन्धन सञ्चित गर्दा बजारमा कृत्रिम अभाव देखिन सक्ने भएकाले संयम अपनाउन उनले अनुरोध गरेका छन्।
कार्यकारी निर्देशक भट्टले सुरक्षाको दृष्टिकोणले पनि घरमा इन्धन राख्नु जोखिमपूर्ण हुने बताएका छन्। उनले जेरी क्यान, ड्रम वा असुरक्षित भाँडामा पेट्रोलियम पदार्थ भण्डारण गर्दा आगलागी जस्ता गम्भीर दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्। सम्भावित दुर्घटना रोक्नका लागि निगमले जेरी क्यान र ड्रममा पेट्रोलियम पदार्थ भर्न समेत निषेध गरेको छ।
सम्भावित आगजनीको जोखिम न्यूनीकरण गर्न र आपूर्ति व्यवस्थालाई सहज बनाउन आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न निगमले उपभोक्ताहरूलाई आग्रह गरेको छ।





