कलैया, १९ फागुन । रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा मोटरसाइकल यात्रीलाई लुटपाट गर्न खोज्ने दुई युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति लुटपाटको प्रयास गरिरहेको अवस्थामा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार लुटपाटमा संलग्न तीनमध्ये एक जना भने फरार भएका छन् । फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।
राजदेवी नगरपालिका–८ का धर्मेन्द्र राय यादव र उनकी श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर गहना लुट्न खोजेपछि प्रहरी टोलीले हस्तक्षेप गरेको थियो । दम्पतीमाथि जाइलागेर गहना लुट्न खोज्दै गर्दा गस्तीमा रहेको सशस्त्रको टोलीले उनीहरूलाई समात्न सफल भएको हो ।
निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको विशेष टोलीले अपराधीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।





