कलैया, १९ फागुन । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जनालाई थुनामा राख्नुको कारण माग गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो।

अधिवक्ता सुरेश बोहराले प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेको हो।

प्रसाईंसँगै ईश्वर दाहाल, युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीका हकमा पनि अदालतले थुनामा राख्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ।