कलैया, १९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था अत्यन्तै मजबुत बनाइएको भन्दै नेपाली सेनाले आम मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा योजना अनुसार सेनासहितका सबै सुरक्षा निकाय कार्यक्षेत्रमा खटिइसकेको जानकारी दिएका छन् ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न देशभर झण्डै ३ लाख ४१ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा ७९,७२७ नेपाली सेना, ७५,७९७ नेपाल प्रहरी, ३४,५६७ सशस्त्र प्रहरी, १,९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र १,४९,०९० निर्वाचन प्रहरी (म्यादी) रहेका छन्।
सेनाले निर्वाचन बिथोल्न सक्ने कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा तैनाथी भइसकेकाले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्





