कलैया, २५ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सोमबार लगातार तीन पटक सकारात्मक सर्किट लागेपछि आजका लागि कारोबार स्थगित गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपश्चात् पहिलो दिन खुलेको बजारमा लगानीकर्ताहरूको अभूतपूर्व उत्साह देखिएको हो । आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १६२.९३ अङ्कले बढेर २,८७५.४३ को बिन्दुमा पुगेको छ ।
बजार खुलेको केही मिनेटमै ४ प्रतिशतको वृद्धि देखिएपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि ११:२१ मा बजार पुन: सुचारु भएको एक मिनेटमै ५ प्रतिशतको वृद्धि भएपछि ४० मिनेटका लागि दोस्रो पटक कारोबार स्थगित भयो ।
दिउँसो १२:०१ बजे परिसूचक ६ प्रतिशतले बढेपछि नेप्सेले बाँकी समयका लागि कारोबार पूर्ण रूपमा बन्द गरेको हो ।
निर्वाचनपछि राजनीतिक स्थिरताको आशा र लगानीकर्ताको उच्च मनोबलका कारण बजारमा यो ऐतिहासिक वृद्धि देखिएको विश्लेषण गरिएको छ ।




