कलैया, ०२ चैत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया बालिका इनिशा विकको बलात्कारपछि भएको हत्याको घटनामा संलग्न दोषीलाई शीघ्र कारबाही गर्न पीडित परिवारले माग गरेको छ।
पीडित परिवारका तर्फबाट इनिशा विकका दाजुहरू चन्द्रबहादुर र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन-पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र न्यायको सुनिश्चितताका लागि आग्रह गरेका हुन्।
जवाफमा गृहमन्त्री अर्यालले अपराधीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मुलुकमा दण्डहीनताको अन्त्य र शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवार रहेको बताएका छन्।
गत फागुन २३ गते सुर्खेतको सहिदपार्क नजिकैको सामुदायिक वनमा इनिशाको शव फेला परेको थियो। पीडित परिवारले यस्ता जघन्य अपराध रोक्न नागरिक समाज र सरोकारवाला निकायलाई समेत गम्भीर बन्न अपिल गरेको छ।





