Monday, August 10, 2026

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

कलैया, ०९ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बर्दियाका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, सर्लाहीका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौंकी ४३ वर्षीया उमा गुरूङ, कास्कीका ३३ वर्षीय आशिष महत र रामेछापकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन्। उनीहरूले पीडितहरूलाई क्रोएशिया, माल्दिभ्स, बेलायत र पोर्चुगल जस्ता देश पुर्‍याउने आश्वासन दिएर मोटो रकम असुल गरी सम्पर्कविहीन भएका थिए।

प्रहरीका अनुसार, पक्राउ परेका आशिष महतले बेलायत पठाइदिन्छु भन्दै एकै व्यक्तिबाट २३ लाख रूपैयाँ ठगी गरेका छन्। त्यस्तै, अर्जुन पौडेलले क्रोएशियाका लागि ३ लाख ३० हजार, डिल्ली राम भुजेलले माल्दिभ्सका लागि २ लाख ९९ हजार, उमा गुरूङले बेलायतका लागि २ लाख र संगिता श्रेष्ठले पोर्चुगल पठाइदिन्छु भन्दै ३ लाख ६८ हजार रूपैयाँ ठगी गरेको खुलेको छ।

पक्राउ परेकामध्ये उमा, संगिता र आशिषलाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो भने अर्जुन र डिल्लीलाई गत शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको थियो। उनीहरू सबैलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर