कलैया, १० चैत। बाराको महागढीमाई नगरपालिका वडा नं ११ स्थित स्वास्थ्य चौकी मधुरी जब्दीमा आयोजित निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र महागढीमाई फाउन्डेसन नेपालको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा कुल १४५ जनाको आँखाको स्वास्थ्य परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा मोतियाबिन्दुबाट पीडित ३६ जना बिरामीहरूलाई निःशुल्क शल्यक्रिया (अपरेसन) को व्यवस्था गरिएको छ। जसले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका स्थानीय नागरिकलाई ठूलो राहत प्रदान गरेको छ।
उक्त कार्यक्रमलाई सफल बनाउन महागढीमाई फाउन्डेसन नेपालका सदस्यहरू धिरज साह, राधाकान्त साह, परमेश्वर सर्राफ, अभिनन्दन साह, रोहन राज, रवि साह, मुन्ना गुप्ता र चन्द्र भूषण लगायतको महत्वपूर्ण योगदान रहेको जनाइएको छ।




