कलैया, १२ चैत । बाराको करैयामाई गाउँपालिका वडा नं. ८ नरही चोकमा आगामी चैत १४ गते शनिबारका दिन एक दिवसीय बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
आउ मिली सहयोग गरौँ संस्था भक्तपुरको आयोजना तथा स्वास्तिक अस्पताल ललितपुरको प्रायोजनमा सञ्चालन हुन लागेको शिविरमा काठमाडौंका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण गरिनेछ। स्थानीय स्तरमा इन्द्र सुरेश मेडिकल हलले समन्वय गरिरहेको यस शिविर बिहान १० बजेदेखि सुरु हुने आयोजकले जनाएका छन्।
यस विशेष स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, पेट मुटु तथा जनरल मेडिसिन विशेषज्ञ, फिजियोथेरापिष्ट र दन्तरोग विशेषज्ञहरूको उपस्थिति रहनेछ। शिविरमा हाड-जोर्नी, नशा, मुख, दाँत तथा शरीरका विभिन्न जटिल एवं सामान्य रोगहरूको निःशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिनेछ। दुर्गम क्षेत्रका नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
शिविर सम्बन्धी थप जानकारी वा नाम दर्ताका लागि सम्पर्क नम्बर ९८६५३३७०९६ र ९८१३१७७५८५ मा सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।




