कलैया, १८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने गरी तयारी सुरु गरिएको छ।
विगतमा नतिजाका लागि तीन महिना कुर्नुपर्ने बाध्यताका कारण विद्यार्थीको माथिल्लो तहको पढाइमा ढिलाइ हुने र ब्रिजकोर्सका नाममा ठगिने समस्या बढेपछि शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परिक्षा बोर्डलाई यस्तो निर्देशन दिएका हुन।
यस व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्बन्धी नयाँ कार्यविधि एक साताभित्र मन्त्रालयमा पेस गर्दै छ। नयाँ योजना अनुसार, प्रक्रियालाई छिटो छरितो बनाउन यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइनेछ।
आगामी चैत १९ भोलि बिहिबार देखि चैत २९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइईको नतिजा सोही कार्यविधि अनुसार छिट्टै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
बाराबाट साधारण नियमिततर्फ ८ हजार ३ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। त्यसैगरी, २०८० र २०८१ को ग्रेड वृद्धितर्फ १ हजार ९ सय ३३ जना र २०७९ को ग्रेड वृद्धितर्फ ६६ जना परीक्षार्थी रहेका छन्।
प्राविधिक धारतर्फ नियमित ३ सय ७५ जना र ग्रेड वृद्धितर्फ ६३ जना गरी ४ सय ३८ जना सहभागी हुनेछन्। यससँगै जिल्लामा कुल १० हजार ८ सय १३ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन्। यस वर्ष एसईई परीक्षामा बाराका १०२ सामुदायिक तथा ५३ संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने जनाइएको छ।
परीक्षा व्यवस्थापनका लागि ३० केन्द्राध्यक्ष, ५८ सहायक केन्द्राध्यक्ष, ५२६ निरीक्षक, ९५ परीक्षा सहायक, २०० कार्यालय सहयोगी र ४५० सुरक्षाकर्मी गरी कुल १ हजार ३ सय ५९ जना जनशक्ति परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाई बाराले जनाएको छ।





